राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ५ असार, २०८१
काठमाडौँ, असार ४। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका रोष्ट्रममै च्यातेका छन् । बजेटमाथि छलफलको क्रममा प्रतिनिधि सभामा बजेटमाथि आक्रोश पोख्दै बजेट पुस्तिका नै च्यातेका हुन् ।
‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ (पोडियम) राख्छु मैले’, उनले भने ।
राप्रपा अध्यक्ष लिङ्देनले यस अघि पनि शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेट सच्याएर ल्याउन सरकारसँग माग गरेका थिए । बजेट सच्याएर नल्याए जनताले नस्वीकार्ने उनको भनाइ थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै यस अघि नै अध्यक्ष लिङ्देनले बजेट सच्याएर ल्याउने काम सत्ता पक्षले गरे एउटा राम्रो परम्पराको सुरुवात हुने बताएका थिए । यसले संसदको पनि गरिमा बढ्ने उनको भनाइ थियो ।
सभामा अध्यक्ष लिङ्देनले बजेटमा सत्तापक्ष भित्र रुवाबासीको अवस्था रहेको देखिनु बिडम्बनापूर्ण रहेको समेत बताएका थिए । अध्यक्ष लिङदेनले सत्तारुढ दलहरुले लोभ गरेर आफ्नो पक्षमा पारेको बजेट खर्च हुने अवस्था नरहेको जिकीर गरेका थिए ।