राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १० भाद्र, २०८२
२०८२ भदौ १०, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा ईश्वरी न्यौपाने सर्वसम्मत भएकी छन् । संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी न्यौपानेले राज्य व्यवस्था समितिमा मनोनयन दर्ता गराएकी थिइन् ।
सभापतिमा एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएकी हुन् । भोलि दिउँसो ३ बजे बस्ने राज्य राज्य व्यवस्था समितिको बैठकले उनलाई सभापतिमा घोषणा गर्नेछ ।
पार्टीका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले यसअघिका सभापति खतिवडालाई नै दोहोर्याउन खोजेपछि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहित इतर समूहका नेताहरूले दीलेन्द्र बडूको नाम अघि सारेका थिए । देउवाले बडूको नाम स्वीकार नगरी न्यौपानेको नाम प्रस्ताव गरे । उनकै नाममा आज मंगलबार नै बसेको पदाधिकारी बैठकमा सहमति जुटेको थियो ।
न्यौपानेले सुनुवाइ समितिबाट आजै सभामुखलाई भेटेर राजीनामा बुझाएकी हुन् । राजीनामा दिएलगत्तै उनी सुशासन समितिको सभापतिमा उम्मेदवारी दिएकी थिइन् ।
समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि उपसभामुखको उम्मेदवार पनि बनाएको थियो ।