राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ९ भाद्र, २०८२
२०८२ भदौ ०९, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन भदौ ११ गते बुधबार बिहान हुने तय भएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उक्त मिति तय गरेका हुन् ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ (१) अनुसार निर्वाचन मिति तोकिएको संसद सचिवालयले जनाएको छ ।
कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएसँगै उक्त पद रिक्त छ ।
प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।