राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ७ कार्तिक, २०८१
काठमाडौं, कार्तिक ७ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा विपक्षी दलका नेताहरुले राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता गरेका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिपक्षमा रहेको दलका नेताहरूले भेट गरेका हुन्।
राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन् ।
प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतलनिवासमा आएको जानकारी दिएका थिए।
राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितीकारे जानकारी दिनका लागि आफूहरू आएको बताउदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
उनीहरूले संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
सो असरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिववद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सिमा अनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे।