राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ८ आश्विन, २०८२
२०८२ असोज ८, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मतदाता नामावली ऐन, २०७३’ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । उनले बुधबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटलगत्तै उक्त अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गरेका हुन् ।
जेन-जी आन्दोलनपछि गठन भएको वर्तमान अन्तरिम सरकारलाई आगामी फागुन २१ गते निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । निर्वाचन आयोगलाई आवश्यक तयारीका लागि सहज होस् भनेर सरकारले यो अध्यादेश सिफारिस गरेको हो ।
अहिले निर्वाचन मिति घोषणा भइसकेको भए पनि राजनीतिक परिवर्तनमा सक्रिय थुप्रै युवाहरूको नाम मतदाता सूचीमा दर्ता नभएको अवस्थामा, उनीहरूको नाम दर्ता गर्न कानुनी मार्ग खोल्न यो अध्यादेश ल्याइएको हो ।
मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा रहेका ‘निर्वाचन मिति घोषणा भइसकेपछि उक्त निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्थालाई संशोधन गर्ने उद्देश्यले अध्यादेश जारी गरिएको आयोगले जनाएको छ ।