राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २९ असार, २०८१
काठमाडौं, असार २८ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।
राष्ट्रपति ले प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टाको समय दिएका छन्।
संसद्को दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ।
कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन् ।