मंगलवार, २८ आश्विन, २०८२

संसदीय सुनुवाइ समिति सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २० भाद्र, २०८२

संसदीय सुनुवाइ समिति सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित

२०८२ भदौ २०, काठमाडौं  । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन् ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद हुन्।

समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिनुभएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई नेकपा (एमाले) का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका सांसद खतिवडा हाल कांग्रेसको केन्द्रीय सदस्य हुन् । यसअघि पनि उनी ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य थिए ।

केही समयअघिसम्म उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा थिए । संवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उनले आगामी सोमबार सभामुखसामु पद तथा गोपनियताको शपथ लिनेछन् ।

advertisement_1676551646.gif