मंगलवार, २८ आश्विन, २०८२

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति, आज पुनः वार्ता हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २७ भाद्र, २०८२

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति, आज पुनः वार्ता हुँदै

२०८२ भदौ २७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका छन् । शीतल निवासमा संविधानविद्सँग परामर्श लिएपछि उनी कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका हुन् । 

संविधानविद्सँगै राष्ट्रपति पौडेल र पूर्व प्रधानन्यायाधीश कार्कीबीच संवैधानिक संकट र निकासको विषयमा वार्ता भएको छ । वार्तामा सहभागी एक अधिकारीका अनुसार कार्कीले संसद् जीवित रहँदै गैरसांसदलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गर्दै पहिले संसद् विघटन गर्नुपर्ने अडान राखेकी छन्।

जेनजीतर्फबाट संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान रह्यो भने पुराना दल र राष्ट्रपति पौडेलले संसद्बाटै निकास निकाल्ने कुरामा जोड दिए । स्रोतका अनुसार राष्ट्रपति पौडेलले कुनै हालतमा संसद विघटन नगर्ने अडान लिएका छन् । कांग्रेस र एमालेको पनि अडान यही छ ।

कार्कीलाई शुक्रबार नै प्रधानमन्त्री नियुक्त गर्ने र गतिरोध लामो समय नलम्ब्याउने विषयमा पनि पौडेल सकारात्मक देखिएका छन् । यसअघि उनले संसदमा रहेका शक्तिहरुलाई बाहिर राखेर निर्णय गर्न नहुने अडान लिएका भए पनि जेनजीको दबाब, सडकको अवस्था र सम्भावित अन्य समस्याहरूलाई पनि विचार गरी तत्कालै निकास दिनुपर्ने कुरामा सहमति जनाएका हुन् ।

यी सबै विषयमा राष्ट्रपतिले प्रमुख राजनीतिक दलका नेता तथा प्रतिनिधि सभाका सभामुखको पनि राय तथा सहमति लिइसकेको शीतलनिवास स्रोतले बताएको छ ।

शीतल निवासमा अन्तरिम सरकार गठन गर्न बिहीबारदेखि बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि आज पुनः वार्ता हुँदैछ । अन्तरिम सरकारको नेतृत्व पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबीच सहमति भए पनि संसद विघटन गर्ने विषयमा राष्ट्रपति सहमत नहुँदा आज बिहान ९ बजे पुनः वार्ता हुने भएको हो ।

advertisement_1676553908.gif