राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २० श्रावण, २०८१
काठमाडौं, साउन २० । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन्। आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
केन्द्रमा कांग्रेस–एमालेको समीकरण बनेसँगै प्रदेशहरुमा पनि त्यसको प्रभाव देखिएको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिबमोजिम शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।
१७ असारमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि सोडारी मन्त्रिपरिषदबाट एमाले बाहिरिएको थियो। अल्पमतमा परेका सोडारीले गत शुक्रबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका थिए।
सुदूरपश्चिम प्रदेश सभा कूल ५३ सदस्यीय रहेको छ। नवनियुक्त मुख्यमन्त्री शाहले कांग्रेसका १८ र एमालेका ११ गरी २९ सांसदहरुको समर्थनमा सरकारको दाबी पेश गरेका थिए।
शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।