राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ३० श्रावण, २०८१
तस्विर: राष्ट्रिय सन्देश
धनगढी, साउन ३० । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।
कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुनेमा मुख्यमन्त्री शाहले ३६ मत प्राप्त गरे। आजको प्रदेश सभा बैठकमा कूल ४५ सांसदको उपस्थिति रहेको थियो।
शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् ।
बैठकमा सहभागी माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरेर ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका छन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।