राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ३० भाद्र, २०८२
२०८२ भदौ ३०, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले गएराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै उनीहरुले प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै नाराबाजी गरेका हुन् ।
त्यसक्रममा गुरुङले भने, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’ गुरुङले ओमप्रकाश अर्याललाई मन्त्री बनाइएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका थिए । ‘म चाहिँ लाशमाथि हिँडिरहेको थिएँ,’ गुरुङले भने, ‘यहाँ क–कसलाई मन्त्री बनाउने काम भइरहेको रहेछ ।’
पदभार ग्रहण गरेकै दिन हिजो प्रधानमन्त्री कार्कीले अधिवक्ता ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।