राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १७ असार, २०८२
१७ असार २०८२, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितका मूलभूत विषयमा केन्द्रित रही सञ्चालन भइरहेको बताएका छन् ।
राष्ट्रियसभाको असार १५ को बैठकअन्तर्गत विनियोजन विधेयकमाथि भएको छलफलमा सांसदहरूले उठाएका परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका तर्फबाट आज (मंगलबार) जवाफ दिदै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले सरकारले संविधानअनुसार स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, नेपालीको हितको रक्षा, आर्थिक समुन्नति र समृद्धिमा केन्द्रित रही परराष्ट्र नीति सञ्चालन तथा अन्तरराष्ट्रिय सम्बन्ध विस्तार गरिरहेको दाबी गरे ।
लेखकले भने, ‘यस सम्बन्धमा नेपालको परराष्ट्र नीति २०७७ ले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय सम्बन्ध र सहयोग बिस्तार एवम् सुदृढीकरणका लागि विस्तृत नीति, रणनीति तथा कार्यनीति स्पष्ट गरेको छ । ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मर्मलाई आत्मसात् गर्दै बदलिँदो विश्व परिवेशमा निकै सुझबुझका साथ सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अङ्गीकार गर्नु आजको आवश्यकता हो । सरकारका प्रयासहरू यसैतर्फ केन्द्रित छन् ।’
मन्त्री लेखकले परराष्ट्र मन्त्रालयले आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको एक प्रमुख आधार मानेर विदेशस्थित नियोगहरूलाई व्यापार, वैदेशिक लगानी, वैदशिक सहयोग, पर्यटन तथा प्रविधि प्रवर्द्धनमा सक्रिय बनाउँदै आएको बताए ।
यसका अतिरिक्त सरोकार भएका निकायहरूसँगको समन्वयमा जलवायु कूटनीतिलाई समेत प्राथमिकतामा राख्दै आइरहेको उनको भनाइ थियो ।