मंगलवार, १२ कार्तिक, २०८२

१६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३ आश्विन, २०८१

१६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

तस्विर: राष्ट्रिय सन्‍देश

काठमाडौं, असोज ३ । संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरिएको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् । न्यौपानेका अनुसार श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि उनको नाम अस्वीकृत भएको समिति सभापति ईश्वरी न्यौपानेले बताइन । 

अनुमोदन भएका १६ जनामध्ये १३ जना सर्वसम्मत र ३ जना बुहमतबाट अनुमोदन भएका हुन् । राजदूतमा सिफारिस भएका धनप्रसाद पण्डित, कपिलमाण श्रेष्ठ र नेत्रप्रसाद तिमल्सिनाको नाम भने बहुमतबाट अनुमोदन भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल र जसपा नेपालका सांसद प्रकाश अधिकारीले फरक मत राखेका थिए।

समितिको निर्णयअनुसार चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ।

यस्तै इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन भएको छ।

यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ।

advertisement_1680627706.gif