राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १६ भाद्र, २०८२
२०८२ भदौ १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले आज ‘सांघाई सहयोग संगठन प्लस बैठक’लाई सम्बोधन गरेका हुन् ।
चीनले प्रस्ताव गरेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जिजिआई)ले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर साझा भविष्यका लागि समुदायका लागि अझ न्यायपूर्ण, समावेशी र समतामूलक बनाएर बहुपक्षीय प्रणालीलाई सुदृढ गर्न मद्दत गर्ने प्रधानमंत्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवीनतामा असाधारण प्रगतिको युगमा बाँचिरहेका भएपनि बढ्दो असमानता, आर्थिक अस्थिरता, जलवायु आपतकाल र सीमाविहीन द्वन्द्वहरूका गहिरो विभाजनले प्रगति ओझेलमा परेको उल्लेख गरे । बहुपक्षीय मञ्चले धेरै वाचा गर्ने गरिएपनि थोरै मात्र प्रवाह हुने गरेको उल्लेख गर्दै उनले प्रगति विनाका वाचाले विश्वास घटाउने बताए । सांघाइ सहयोग संगठनले सार्वभौम समानतामा आधारित पुनरुत्थानशील बहुपक्षीयताको भावनालाई पूरक बनाउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संगठन अझ एकताबद्ध, एकीकृत र भूराजनीतिक, आर्थिक र पारिस्थितिक संकटको सामना गर्न अझ लचिलो हुनुपर्ने आवश्यकता रहेको सम्बोधनको क्रममा बताए ।
उनले साइबर हमला, महामारी, पारिस्थितिक संकटजस्ता उदीयमान खतरा सीमित नभएको उल्लेख गर्दै दिगो विकास लक्ष्य प्राप्त गर्न केवल पाँच वर्ष बाँकी रहँदा लक्ष्य हासिल गर्ने दिशामा पछाडि परेको बताए ।यस कठिन समयमा, क्षेत्रीय सहयोग साझा चुनौतीहरू आर्थिक, प्राविधिक, पारिस्थितिक सामना गर्ने एउटा उपकरण भएको बताउँदै प्रधानमन्त्री ओलीले क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता अटल रहेको र सांघाई सहयोग संगठनका सदस्यसँगको सम्बन्ध बलियो रहेको उल्लेख गरे ।
उनले आगामी दिनमा एक्लोपनाबाट सम्पर्क सञ्जालतर्फ, टकरावबाट परामर्शतर्फ र प्रतिस्पर्धाबाट सहकार्यको आवश्यकता औँल्याए। यसका लागि भौतिक, आर्थिक, डिजिटल, सामाजिक–सांस्कृतिक र जन–जनबिचको सम्पर्क बढाएर क्षेत्रीय शान्ति, प्रगति र समृद्धि प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो ।
उनले बैठकको सफलताका साथै सांघाई सहयोग संगठनका सबै सदस्य राष्ट्रको निरन्तर प्रगति र समृद्धिका लागि नेपाली जनताको तर्फबाट शुभकामना व्यक्त गरे।