राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ३१ बैशाख, २०८१
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुन सक्ने बताएका छन् । एकीकृत समाजवादीको सोमबार बसेको पोलिटब्यूरो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अहिलेको सत्ता समीकरण बदलिन सक्ने बताएका हुन्।
उहाँले वर्तमान संसदको संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन् ।
तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता वा वाम एकता सम्भव नभएको निष्कर्ष निकालेका अध्यक्ष नेपालले अहिले एमाले र माओवादीसँगको सत्ता सहकार्य पनि फेरिन सक्ने निष्कर्ष निकालेका छन् ।
''यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन तात्कालीन राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालीन राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालीन राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।'' , प्रतिवेदनमा उल्लेख गरिएको छ ।