शनिबार, २७ असार, २०८३

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौं महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौं महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

२०८३ असार २७, काठमाडौँ । काठमाडौं महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई सहयोग गर्ने भएको छ ।

घटनाप्रति गहिरो दुःख व्यक्त महानगरले नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने र सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिने प्रवक्ता नवीन मानन्धरले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।

महानगरले घटनाको निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयले गठन गर्ने छानबिन समितिको तथ्यगत अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्ने उल्लेख छ ।

यस्तो छ महानगरको विज्ञप्ति

मिति २०८३–०३–२५ गते राहदानी विभाग अगाडि मुगु जिल्ला घर भई हाल भक्तपुर वस्ने गणेश नेपालीले आत्मदाहको प्रयास गरेको र आज उहाँको उपचारका क्रममा भएको दुःखद निधनप्रति काठमाडौं महानगरपालिका स्तब्ध भएको छ। यस घटनाप्रति काठमाडौं महानगरपालिका गहिरो दुःख व्यक्त गर्दछ । यस घडीमा शोकसन्तप्त परिवारप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं ।

यस घटनाको निष्पक्ष छानविन गर्न नेपाल सरकार, गृह मन्त्रालयले छानविन समिति गठन गर्ने निर्णय गरेको भन्ने जानकारी सञ्चारमाध्यम मार्फत् प्राप्त हुन आएको छ। उक्त समितिको तथ्यगत छानविनमा काठमाडौं महानगरपालिकाले पूर्णरुपमा सहयोग गर्नेछ । छानविनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरु चाल्नेछ। महानगरपालिका नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न, यस्ता घटना दोहोरिन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार छ । यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न हामी सबैमा हार्दिक अपिल गर्दछौं ।

दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकवाट निर्णय गरिनेछ ।

advertisement_1676553908.gif