बिहीबार, १६ माघ, २०८२

त्रिशूली किनारामा भेटिएको गणपति डिलक्स बसको उत्खनन स्थगित

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १४ माघ, २०८२

त्रिशूली किनारामा भेटिएको गणपति डिलक्स बसको उत्खनन स्थगित

२०८२ माघ १३, काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको ’गणपति डिलक्स’ बसको उत्खनन कार्य मंगलबारदेखि स्थगित गरिएको छ ।

उत्खनन शुरू भएको १७ औँ दिनमा सो कार्य स्थगित गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए । बसको केही भाग पानीबाट निकालिएको र बाँकी भाग निकाल्न प्राविधिक समस्या भएपछि काम रोक्ने निर्णय गरिएको उनले बताए ।

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि उत्खनन कार्य शुरू गरिएको थियो । उत्खननको १६औँ दिन हिजो बसभित्र मानव कंकाल भेटिएको थियो । बसको भित्री भागमा कंकाल भेटिएपछि यस सम्बन्धमा थप अनुसन्धान र पहिचानको प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

विसं. २०८१ असार २८ गते चितवनको सिमलतालमा लेदोसहितको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा हराएको थियो। सोही बस १८ महिनापछि गत पुस २६ गते तनहुँतर्फ नदी किनारमा फेला परेको हो ।

advertisement_1676551537.gif