मंगलवार, २३ भाद्र, २०८३

भोटेकोशी बाढी: २८ शिक्षक र ५०० विद्यार्थी सम्पर्कविहीन

राष्ट्रिय सन्‍देश संबाददाता, २० घण्टा पहिले

भोटेकोशी बाढी: २८ शिक्षक र ५०० विद्यार्थी सम्पर्कविहीन

२०८३ भदौ २२ काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो सङ्ख्यामा शिक्षक र विद्यार्थीहरू सम्पर्कविहीन भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको द्रुत सर्वेक्षण अनुसार बाढीका कारण २८ जना शिक्षक र ५०० भन्दा बढी विद्यार्थीहरू हालसम्म सम्पर्कविहीन रहेका छन् ।

बाढी र पहिरोले विद्यालयका भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै नियमित पठनपाठन पूर्ण रूपमा ठप्प पारेको छ। यस प्राकृतिक विपद्बाट उक्त क्षेत्रका १० हजारभन्दा बढी विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

हाल प्रभावित क्षेत्रका विद्यालयहरू तथा बालबालिकाको यथार्थ अवस्था पत्ता लगाउन थप विवरण सङ्कलनको काम तीव्र पारिएको छ । सम्पर्कविहीन रहेका शिक्षक तथा विद्यार्थीहरूको खोजतलास र उद्धारका लागि सम्बन्धित सरकारी निकाय तथा स्थानीय प्रशासनमार्फत आवश्यक समन्वय भइरहेको छ । बाढीपीडित क्षेत्रमा शैक्षिक वातावरण पुनः सहज बनाउन र विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले स्थानीय निकायहरूसँग मिलेर काम गरिरहेको छ ।

यसैबीच, विपद्का कारण कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सरकारले विशेष राहत कार्यक्रम अघि बढाएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले बाढीबाट प्रभावित बालबालिकाको अध्ययनलाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’को घोषणा गर्नुभएको छ ।

यस योजनामार्फत विपद्का कारण आर्थिक र भौतिक समस्यामा परेका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सहयोग उपलब्ध गराइनेछ। मन्त्रालयले बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन विभिन्न शैक्षिक संस्था तथा गैरसरकारी संघसंस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

advertisement_1676553851.gif