आईतवार, ३ जेष्ठ, २०८३

मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल

२०८३ जेष्ठ ०३, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता नेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको योगदान नेपाली कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताएका छन् ।

मदन–आश्रितको रहस्यमय निधन भएको ३३ वर्ष पूरा भएको अवसरमा श्रद्धाञ्जली सन्देश जारी गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले उक्त घटनाबाट अपूरणीय क्षति व्यहोरेको उल्लेख गरे ।

उनले जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार तथा लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनका कुशल नेतृत्वकर्ता भएको बताए ।

उनले भने, ‘जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार तथा लोकतान्त्रिक एवं देशभक्तिपूर्ण आन्दोलनका कुशल नेतृत्वकर्ता हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गरिएको थियो ।’

उनकै नेतृत्वमा जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गरिएको स्मरण गर्दै उनले विश्वभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा लोकप्रिय र बलियो बनाउन तत्कालीन पार्टीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
त्यसैगरी, जीवराज आश्रितलाई कुशल सङ्गठकका रूपमा स्मरण गर्दै पार्टीको विधान, नीति, सिद्धान्त र आदर्शअनुरूप सुदृढ संगठन निर्माणमा उनको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।

सन्देशमा उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद र विसर्जनवादबाट जोगाउँदै समाजवाद निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

‘नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका लागि समाजमा विद्यमान शोषण, दमन र निरङ्कुशताविरुद्ध संघर्ष गर्दै लोकतन्त्रका मूल्य मान्यता स्थापित गर्न हाम्रो पार्टी प्रतिबद्ध भएर लागिपरेको छ । जनताले संघर्षबाट स्थापित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशातर्फ धकेल्ने दक्षिणपन्थी अवसरवाद, अहंकारवाद र विसर्जनवादविरुद्ध हाम्रो संघर्ष निरन्तर जारी छ,’ सन्देशमा उल्लेख छ ।

सामाजिक–आर्थिक रूपान्तरण, विकास निर्माण र उत्पादनमुखी योजनामार्फत जनतालाई गोलबन्द गर्दै नेपालमा समाजवादको नयाँ मोडेल निर्माण गर्ने लक्ष्य पार्टीले लिएको बताए ।

advertisement_1680627706.gif