राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ बैशाख २९, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा “पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्” भनी स्थापित गर्न खोजिएको भाष्यलाई अस्वीकार गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सबै पुराना नेतृत्वलाई एउटै डालोमा राखेर हेर्नु सत्य नभएको जिकिर गरे ।
संयोजक प्रचण्डले पुराना र नयाँबीचको खाडल खनेर समाज र राजनीतिलाई विभाजित गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरे । “सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो,” उनले भने, “पुराना र नयाँको भाष्यले विभाजन मात्र निम्त्याउँछ, तर सही र गलतको बहसले समाजलाई रूपान्तरणसहितको नयाँ एकताको आधार दिन्छ ।”
उनले आफूलाई समेत त्यही ‘गलत’ भाष्यभित्र घिसार्न खोजिएको भन्दै त्यसको प्रतिवाद गरे ।
सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको विगतको सहकार्यलाई विशेष रूपमा स्मरण गरे । अघिल्लो संसदमा आफूले प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा रास्वपासँग अत्यन्तै बलियो सहकार्य गरेको उनले उल्लेख गरे ।
उनले सुशासन, सेवा प्रवाहमा सरलीकरण, मेरिटोक्रेसीको कार्यान्वयनका साथै ललिता निवास जग्गा प्रकरण र भुटानी शरणार्थी जस्ता ठूला भ्रष्टाचार काण्डको अनुसन्धानमा आफूहरूले ऐतिहासिक काम गरेको दाबी गरे ।
प्रतिपक्षमा रहँदा आफ्नो दलको संख्या सानो भए पनि दुई-तिहाइको शक्तिशाली सत्तापक्षले गरेका बेथिति र विकृतिविरुद्ध दृढतापूर्वक लडेको उनले बताए । दार्शनिक र समाजशास्त्रीय दृष्टिकोणबाट पनि पुरानालाई मात्रै दोष दिने प्रवृत्ति गलत रहेको उल्लेख गर्दै प्रचण्डले अबको राजनीति विचार र कामको सही-गलतका आधारमा हुनुपर्नेमा जोड दिए ।
उनले संघीय संसदमा देखिएको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको चुनावी नतिजाभन्दा ठूलो उपलब्धिको रूपमा व्याख्या गरे । उनले वर्तमान संसदको संरचनालाई ‘रगतले लेखिएको कथा’ को संज्ञा दिए । उनले निर्वाचनमा पार्टीको आकार सानो वा ठूलो हुनुभन्दा पनि उत्पीडित वर्ग र समुदायका प्रतिनिधिको ‘इन्द्रधनुषी’ उपस्थितिले आफूलाई बढी गर्वित तुल्याएको बताए ।
संयोजक प्रचण्डले संसद भवनलाई केवल सिमेन्ट र इँटाको संरचना मात्र नभई हजारौँ शहीदको शहादतको जगमा उभिएको पवित्र स्थलका रूपमा चित्रण गरे । विगतमा आफूहरूले उठाएको बन्दुकले सामन्तवादको ढोका नखोलेको भए आज मन्त्री र सांसदको रूपमा उत्पीडित समुदायका प्रतिनिधिहरू यहाँ देखिने अवस्था नरहने उनको दाबी थियो ।
उनले भावुक हुँदै भने- संसदमा जुनसुकै दलबाट जोसुकै प्रवेश गरे पनि आफूलाई आफ्नै क्रान्तिको मर्म प्रवेश गरेजस्तो महसुस हुन्छ ।’ उनले सशस्त्र युद्धदेखि पछिल्लो ‘जेनजी’ आन्दोलनसम्मका सबै शहीद र घाइते योद्धाहरूको योगदानलाई स्मरण गर्दै सो बलिदान बिर्सिएको दिन यो संसदीय व्यवस्थाको भवन नै ढल्ने चेतावनी समेत दिए ।
विशेष सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको करिब दुई तिहाइको सफलतालाई स्वीकार गर्दै सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई ज्ञापन गरे । काठमाडौंको मेयर हुँदै बालेन्द्र शाह प्रधानमन्त्री बन्नुलाई उनले आफ्नो क्रान्तिकै संकल्पको जीतका रूपमा अर्थ्याए ।
उनले शान्ति प्रक्रियापछि काठमाडौंमा मधेशी पहिचान र आत्मसम्मान स्थापित गर्न आफूले चलाएको अभियानको स्मरण गर्दै अब शान्ति प्रक्रियालाई पूर्णता दिने जिम्मेवारी नयाँ पुस्ता र वर्तमान सरकारको काँधमा आएको उल्लेख गरे ।