राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ बैशाख २९, काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीच सदियौँदेखि रहिआएको ऐतिहासिक तथा प्रगाढ सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध आयामबारे गहन विचार–विमर्श भएको थियो ।
भेटमा राजदूतले मन्त्रीलाई सफल कार्यकालको शुभकामना दिएका थिए भने मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावप्रति हार्दिक कृतज्ञता व्यक्त गरेकी थिइन् ।
छलफलका क्रममा नेपालका राष्ट्रियस्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको स्थापना तथा समग्र स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोग र सहकार्यलाई थप प्रभावकारी र मजबुत बनाउने विषयमा सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ ।