मंगलवार, ५ श्रावण, २०८३

पूर्वप्रधानमन्त्री देउवा स्वदेश फर्कँदै, लोकतन्त्रको रक्षाका लागि एकजुट हुन देउवाको आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

पूर्वप्रधानमन्त्री देउवा स्वदेश फर्कँदै,  लोकतन्त्रको रक्षाका लागि एकजुट हुन देउवाको आह्वान

२०८३ साउन ०५, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी दिएका छन् । विदेशमा स्वास्थ्य उपचारका क्रममा रहेका देउवाले स्वदेश फर्कने तयारीबारे जानकारी दिँदै नेपाली जनतासँग पुनः प्रत्यक्ष जोडिन लागेको बताएका हुन् ।

बीपी स्मृति दिवसको अवसरमा मंगलबार दुई पृष्ठ लामो वक्तव्य जारी गर्दै उनले छिट्टै नेपाल फर्केर लोकतान्त्रिक आन्दोलन र संविधानवादलाई सुदृढ गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

देश चुनावमा होमिएका बेला गत फागुन १७ गते स्वास्थ्य उपचारका लागि भन्दै उनी सिंगापुर उडेका थिए । त्यसअघि भारतमा रहेकी उनकी पत्नी आरजू राणा देउवा पनि उतैबाट सिंगापुर गएकी थिइन् ।

त्यसपछि देउवा दम्पती हङकङ पुगेर घुमफिर गरेको भिडियोसमेत सार्वजनिक भएको थियो। नेपालमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान जारी रहनुका साथै पक्राउ पुर्जीसमेत जारी भएको छ । हाल उनी कहाँ र कुन अवस्थामा छन् भन्ने स्पष्ट छैन भने उनको यो वक्तव्यमा पनि ठेगाना उल्लेख गरिएको छैन । देउवा देशबाहिर रहेका बेला यतिबेला नेपाली कांग्रेस विभाजनको डिलमा पुगे पनि उनले आफ्नो वक्तव्यमा पार्टीभित्रको विवादबारे भने केही उल्लेख गरेका छैनन् ।

देउवाले जारी गरेको सन्देशमा आफू नेपालको लोकतान्त्रिक आन्दोलन, राष्ट्रियता र जनताको अधिकारप्रति निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । उनले जननायक बीपी कोइरालाले देखाएको लोकतान्त्रिक मार्ग, राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई वर्तमान राजनीतिक यात्राको आधारका रूपमा स्मरण गरेका छन् । उनले पछिल्लो राजनीतिक परिस्थितिमा लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संविधानको रक्षा र जनताको सर्वोच्चताको सम्मान आवश्यक रहेको बताएका छन् ।

देउवाले स्वदेश फर्किएपछि समसामयिक राजनीतिक विषय, पार्टीको आगामी भूमिका तथा मुलुकको अवस्थाबारे थप सक्रिय हुने तयारी रहेको बताएका छन् । विदेशमा रहे पनि आफ्नो मन र चिन्ता देश र जनताप्रति नै केन्द्रित रहेको उल्लेख गर्दै उनले देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास, र प्रतिशोध होइन सहकार्यको खाँचो रहेको बताएका छन् । साथै, लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने गतिविधिविरुद्ध दृढतापूर्वक उभिन राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीलाई उनले एकजुट हुन आह्वान गरेका छन् ।

Download the PDF
advertisement_1676551694.gif