मंगलवार, ५ श्रावण, २०८३

धर्नामा बस्‍दै आएकी बिनु र महिला मन्त्री वादीबीच भेटवार्ता, आवश्यक सहयोग गर्ने मन्त्री बादीको प्रतिबद्धता

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

धर्नामा बस्‍दै आएकी बिनु र महिला मन्त्री वादीबीच भेटवार्ता, आवश्यक सहयोग गर्ने मन्त्री बादीको प्रतिबद्धता

२०८३ साउन ०५, काठमाडौँ । सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादव र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीबीच मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री बादीले यादवले उठाएका विषयप्रति मन्त्रालय संवेदनशील रहेको भन्दै आफ्नो अधिकार क्षेत्रभित्र पर्ने मागहरूमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

भेटवार्ताका क्रममा यादवले आफूले उठाउँदै आएका माग, मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था तथा जीविकोपार्जनका विषयमा मन्त्रीसमक्ष आफ्ना धारणा राखेकी थिइन् । साथै, उनले यसअघि सरकार पक्षसँग भएको सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्रालयसमक्ष लिखित निवेदनसमेत पेश गरेकी छन् ।

जवाफमा मन्त्री बादीले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी कानुनबमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालयले आफ्नो भूमिकाअनुसार पूर्ण सहयोग गर्ने आश्वासन दिइन् । मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिर रहेका विषयहरूलाई भने चाँडै सम्बन्धित निकायमा आवश्यक पहलका लागि पठाइने विषयमा समेत छलफल भएको छ ।

नागरिकका गुनासा तथा सरोकारप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री बादीले संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत नै समस्याको स्थायी समाधान खोज्नु सरकारको दायित्व भएको स्पष्ट पारिन् ।

advertisement_1676551694.gif