राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८२ वैशाख ६ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोलि गर्ने भनेको प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने बताएपछि गृह मन्त्रालयले त्यस्तो गरे कारबाही गर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र तोडे कानुन बमोजिम कारबाही गर्ने जनाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । शनिबार विज्ञप्ति जारी गरेर मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन खालका गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने जनाएको हो ।
समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन गृह मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । लोकतान्त्रिक व्यवस्था नै फालेर राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना गर्न आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई निषेधित क्षेत्र तोड्ने चुनौती दिएको छ ।
बिहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय नै गरेर राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्र तोड्ने भनेको छ।