राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ बैशाख ०५, काठमाडौं । सीमापार तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा आज गृह मन्त्रालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ । छलफलमा माननीय गृहमन्त्री तथा मधेश र लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको सहभागिता रहेको थियो।
छलफलका क्रममा सांसदहरुले सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रणलाई थप सुदृढ बनाउन विभिन्न महत्वपूर्ण सुझावहरु प्रस्तुत गरेका थिए । उनीहरुले विद्यमान भन्सार प्रणालीमा सुधार आवश्यक रहेको औंल्याउँदै भन्सार दर पुनरावलोकन गर्नुपर्ने धारणा राखे। साथै, सीमामा प्रभावकारी निगरानी तथा अनुगमन संयन्त्र विकास गर्नुपर्नेमा जोड दिइयो ।
त्यसैगरी, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्नुपर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई दैनिक उपभोग्य सामग्री आयातमा निश्चित हदसम्म भन्सार छुट दिन मापदण्ड निर्धारण गर्नुपर्ने सुझाव पनि उठाइएको थियो ।
छलफलमा उठेका गृह मन्त्रालयसँग सम्बन्धित विषयहरुलाई गृह मन्त्रालयले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरु भने थप छलफल र समन्वयमार्फत समाधान गर्ने सहमति भएको जनाइएको छ ।
सरकारले सीमापार तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै नीतिगत र संरचनात्मक सुधारमार्फत समस्या समाधान गर्ने संकेत दिएको छ ।