आईतवार, ७ भाद्र, २०८३

त्याग र समर्पणबाट मात्रै समाज परिवर्तन सम्भव हुन्छ : झलनाथ खनाल

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

त्याग र समर्पणबाट मात्रै समाज परिवर्तन सम्भव हुन्छ : झलनाथ खनाल

२०८३ भदौ ०६ काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले समाज परिवर्तनका लागि क्रान्तिकारीहरू त्याग, तपस्या र बलिदानको भावनासहित निरन्तर अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एकता घोषणा सभा तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनालले मानिसको जीवन सीमित भए पनि राष्ट्र र जनताका लागि गरिने योगदान महत्वपूर्ण हुने बताए ।

आफ्नो जीवन राष्ट्र र जनताका लागि समर्पित गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न महत्वपूर्ण रहेको उल्लेख गर्दै खनालले पूर्ण रूपमा समर्पित हुन नसके पनि आफ्नो क्षमताअनुसार योगदान गर्न सबै तयार रहनुपर्ने बताए ।

समाज परिवर्तनका लागि अध्ययन, चिन्तन र मननलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा खनालले जोड दिए। परिवर्तनको प्रवाहलाई अघि बढाउन प्राप्त निष्कर्षलाई व्यवहारमा लागू गर्न गम्भीरतापूर्वक लाग्नुपर्ने उनको भनाइ थियो ।

‘यसरी तयार भयौं भने मात्रै समाज परिवर्तन हुँदै अगाडि बढ्छ। यो परिवर्तनको प्रवाहलाई अगाडि बढाउनका लागि हामी सबैले असाध्यै गम्भीर रूपमा अध्ययन गर्नुपर्छ, चिन्तन–मनन पनि गर्नुपर्छ,’ खनालले भने, ‘साथसाथै, अध्ययन गरेर प्राप्त गरेका निष्कर्षहरूलाई लागू गर्न पनि त्यत्तिकै गम्भीर भएर लाग्न सक्नुपर्छ ।’

उनले आफू लामो समय एमालेमा रहँदा नयाँ जनवादका लागि संघर्ष गरेको स्मरण गर्दै एमालेको पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको बहुदलीय जनवादको कार्यक्रममा भिन्न मत राखेको बताए । २०६२/६३ को जनआन्दोलनपछि जनवादी क्रान्ति सम्पन्न भएको अवस्थामा समाजवादी क्रान्तिको चरणमा बहुदलीय जनवादको निरन्तरता आवश्यक नरहेको उनको भनाई छ । खनालले अहिले पनि एमाले बहुदलीय जनवादकै विचारमा अघि बढिरहेको भन्दै पार्टी नेतृत्व र विचारमा परिवर्तन नआए एमाले ध्वस्त हुने दाबी गरे ।

खनालले समाज रूपान्तरणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।

advertisement_1676553851.gif