राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार ०३, काठमाडौं । सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार महिनाको तेस्रो सातादेखि प्रमाणपत्र वितरणको काम सुरु गर्ने जानकारी दिएकी छन् ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री रावलले भूमिहीन व्यवस्थापनसम्बन्धी कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताइन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्वासीहरूलाई लालपुर्जा दिइन्छ कि दिइँदैन् भनेर सोधेको प्रश्नको जवाफ दिदै मन्त्री रावलले भनिन्, ‘लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं । अब असारको तेस्रो हप्तादेखि हामीले लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौं ।’
साम्पाङले विस्थापित गरिएका सुकुम्वासीलाई राखिएको अस्थायी व्यवस्थापन केन्द्रको अवस्था र त्यहाँको सेवा सुविधामाथि समेत प्रश्न उठाउँदै नागरिकको दीर्घकालीन समाधान खोजिनुपर्ने धारणा राखेका थिए ।
जवाफमा मन्त्री रावलले लालपुर्जा वितरणका लागि आवश्यक तयारी अघि बढिसकेको बताइन् । उनले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले संरचनागत रूपमा काम गरिरहेको उल्लेख गरिन् ।
मन्त्री रावलका अनुसार विगतमा भूमि आयोगमार्फत सञ्चालन हुँदै आएको प्रक्रिया अहिले भूमि सम्बन्धी समितिमार्फत अघि बढाइएको छ । सोही संयन्त्रबाट सुकुम्वासी र भूमिहीन नागरिकको व्यवस्थापन तथा जग्गासम्बन्धी काम अगाडि बढाइने उनले बताइन् ।