बुधबार, १३ कार्तिक, २०८२

मुक्तिनाथ क्षेत्रमा हिमपात : तीर्थयात्री र यात्रु प्रभावित

राष्ट्रिय सन्‍देश संबाददाता, २२ घण्टा पहिले

मुक्तिनाथ क्षेत्रमा हिमपात : तीर्थयात्री र यात्रु प्रभावित

२०८२ कार्तिक ११, काठमाडौँ । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि हिमपात भएको छ । मुक्तिनाथ मन्दिर वरपर क्षेत्रमा हिउँ परेको हो ।

होटल र पसल सञ्चालकहरूले बेल्चाको सहायताले आफ्नो अगाडि जमेको हिउँ पन्छाए पनि सडकमा परेको बाक्लो हिउँ हटाउन स्काभेटर प्रयोग गर्नुपर्ने अवस्था छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै हाल हिमपात जारी रहेकाले यात्रामा ननिस्कन पदयात्रीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार मुस्ताङ–डोल्पा, थोरङ्ला पास, सरिबुङ पास, धम्पुस पिकलगायत उच्च हिमाली क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा बुधबारसम्म हिमपात र वर्षा हुने पूर्वानुमान छ । “हिमपात र वर्षाका कारण दैनिक जनजीवन, कृषि, पर्यटन र पर्वतारोहण गतिविधिमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध छ,” विभागले जनाएको छ ।

advertisement_1744958411.jpg