राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार ०१, काठमाडौं । प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
ओलीले विभिन्न व्यक्तिले आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएसँगै साइबर ब्युरोले ६१ वर्षीय प्रधुमन श्रेष्ठलाई पक्राउ गरेको हो ।
ब्युरोका सूचना अधिकारी दिलीपकुमार गिरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुंगल ठेगाना भएका उनलाई सोमबार पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट आजै ४ दिन म्याद थप गरिएको छ ।
सांसद ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएको तस्वीरमा अपशब्द तथा नकारात्मक टिप्पणी गरेर चरित्र हत्या गर्ने काम भएको भन्दै उनीसहित तीन दर्जन हाराहारीका व्यक्तिविरुद्ध उजुरी दर्ता गराएकी छन् ।
आफ्नो चरित्र हत्या भएको भन्दै उनले केही दिनअघि संसद्मा समेत कुरा उठाएकी थिइन् ।
आफ्नो चरित्र हत्या भएको भन्दै उनले केही दिनअघि संसद्मा समेत कुरा उठाएकी थिइन् भने संसद्मै गृहमन्त्री सुधन गुरुङले उजुरी दिन आग्रह गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएका थिए ।
सांसद ओलीले यस विषयमा गम्भीर चासो देखाएकोमा गृहमन्त्री र साइबर ब्युरोप्रति आभार समेत व्यक्त गरेकी छन् ।