राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार ०१, विराटनगर ।कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।
सरकारले प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले ल्याएको बजेट चालुतर्फ कूल बजेटको ३४.५५ प्रतिशत हो । पूँजीगततर्फ ५१.३२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ०.३७ प्रतिशत हुन आउँछ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी हो ।
सरकारले बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड, संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदानहरू रहेका छन् । चालु आर्थिक वर्षको नगद मौज्दातबाट ५ अर्ब रुपैयाँ परिचालन गरिने अनुमान छ ।
परम्परागत ब्रिफकेसको साटो मन्त्री लिङ्थेपले स्थानीय पहिचान र नेपाली मौलिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ढाकाको झोलामा बजेट वक्तव्य बोकेर प्रदेश सभा पुगेका थिए ।