राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार ०२, काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दै छ । सिंहदरबारस्थित संसद् भवनमा बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको आगामी आर्थिक वर्षको बजेटमाथि एकीकृत रूपमा छलफल हुने मुख्य कार्यसूची रहेको छ ।
जसअनुसार आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेट शीर्षकहरूमाथि केन्द्रित रहेर सांसदहरूले आ–आफ्नो धारणा राख्नेछन् ।
बजेटमाथिको छलफलका क्रममा आजको बैठकमा विभिन्न मन्त्रालयको खर्च कटौतीका प्रस्तावहरू समेत प्रस्तुत हुने कार्यसूची छ । विनियोजन विधेयक, २०८३ अन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी सांसद गुरु प्रसाद बरालले प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको खर्च रकम घटाई एक रुपैयाँ कायम गर्न सांसद रमेश कुमार मल्लले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । पूर्वाधार विकास मन्त्रालयको हकमा दुईवटा प्रस्ताव आउने भएका छन्, जसमा सांसद मोहम्मद इश्तियाक राईले मन्त्रालयको शीर्षकमा उल्लिखित खर्च रकम घटाइयोस् भन्ने प्रस्ताव राख्नेछन् भने सांसद बलावती शर्माले सो मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँ मात्र कायम गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
यस्तै, गृह मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव सांसद विष्णु माया वि.क. ले बैठकमा पेस गर्ने कार्यसूची तय भएको छ ।
विभिन्न मन्त्रालयको बजेटमाथिको सघन छलफल र खर्च कटौतीका प्रस्तावहरूमाथिको विचारविमर्श सकिएपछि बैठकको अन्त्यमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।
प्रतिनिधिसभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको असामयिक निधन भएकोमा उनको सम्मान र आत्माको चिरशान्तिको कामना गर्दै सभामुखले बैठकसमक्ष शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।