आईतवार, १ मंसिर, २०८२

कर्णालीबाट खेल्न मार्क वाट नेपाल आइपुगे

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

कर्णालीबाट खेल्न मार्क वाट नेपाल आइपुगे

२०८२ कार्तिक ३०, काठमाडौँ । कर्णाली याक्स स्पोट्स प्रा.लीमा अनुबन्ध भएका स्कटल्यान्डका बलर मार्क वाट नेपाल आइपुगेका छन् । शनिबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे लगायत प्रतिनिधिहरुले स्वागत गरेका थिए ।

यसअघि शुक्रबार राति अफगानिस्तान पूर्व कप्तान नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइपुगेका थिए । भारतका प्रियाङ पन्चाल शुक्रबार बिहानै नेपाल आएका हुन् । अब, अस्ट्रेलियाका ब्याटर विलियम बासिस्टो मात्रै कर्णाली याक्सको क्लोज क्याम्पमा आवद्ध हुन बाँकी छन् ।

२९ वर्षीय वाटले पहिलो पटक एनपिएल खेल्न लागेका हुन्। उनले स्कटल्यान्डको लागि टी-२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएका छन् । त्यस्तै, २९४ रन जोडेका छन्। यता, एकदिवसीयमा ८२ खेल खेल्दा एक सय १० विकेट लिएका छन् ।  यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

advertisement_1676553851.gif