राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ११ कार्तिक, २०८२
२०८२ कार्तिक १०, काठमाडौँ । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ ।
शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो । प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले सुनिश्चित गरिसकेको थियो ।
इरानले यसअघि भारतलाई २-० र नेपाललाई ३-० ले हराउँदै शीर्ष स्थान हात पारेको थियो । सान्त्वना जितका लागि मैदानमा उत्रिएको नेपालले सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै भारतलाई दबाबमा राख्यो ।
खेलको दोस्रो मिनेटमै साम्बाले डिफेन्स लाइनबाट आएको लामो क्रसमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । दोस्रो हाफमा पनि साम्बाले नै निर्णायक प्रदर्शन गर्दै ६३औं मिनेटमा फ्रिकिकमार्फत गोल थपिन्, जसलाई भारतीय गोलकिपरले रोक्न सकिनन् । ८१औं मिनेटमा भारतका करिश्मा सिरभोकरले निर्मला देवीको फ्रिकिकमा आएको बललाई बाउन्स हुँदै प्राप्त गरी गोल फर्काइन्। तर, उक्त गोल बराबरीका लागि पर्याप्त रहेन र नेपालले २–१ को जित आफ्नो नाममा दर्ता गर्यो।
भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहिन् । उनले भारत विरुद्ध अहिलेसम्म १० गोल गरिसकेकी छिन् । समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्याएकी छिन् । पहिलो खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको थियो । त्यसअघि भारत इरानसँग २(० ले पराजित भएको थियो ।
नेपाली टोली उपाधि जित्ने लक्ष्य लिएर शिलोङ पुगेपनि पहिलो खेलमै पराजित भएपछि सम्भावना सकिएको थियो।