राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार ०३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असारमा आयोजना हुन गइरहेको आफ्नो ऐतिहासिक ‘प्रथम राष्ट्रिय महाधिवेशन’ को आधिकारिक (अफिसियल) लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयले एक औपचारिक निर्णय र जानकारीसहित महाधिवेशनको मूल पहिचान झल्किने गरी तयार पारिएको लोगो सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको लोगोमा रास्वपाको क्रान्तिकारी पहिचान र वर्तमान राजनीतिक शक्ति सन्तुलनलाई प्रस्ट रूपमा समेटिएको छ । रास्वपाले आफ्नो स्थापना कालदेखि नै प्रयोग गर्दै आएको र क्रान्तिको प्रतीक मानिएको ‘स्काई ब्लु’ (निलो) रङलाई लोगोको मुख्य पृष्ठभूमिको रूपमा राखिएको छ ।
लोगोको मध्यभागमा पार्टीका संस्थापक सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को तस्बिरलाई विशेष रूपमा सजाइएको छ ।
रास्वपाको निर्वाचन चिह्न ‘घण्टी’ लाई पनि लोगोको महत्त्वपूर्ण अङ्गको रूपमा समायोजन गरिएको छ ।
रास्वपाको यो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशन चितवनको भरतपुरस्थित चितवन उद्योग संघको प्रर्दशनी केन्द्र (चितवन एक्स्पो सेन्टर) मा सञ्चालन हुने पार्टी सचिवालयले जनाएको छ ।
देशभरि तीव्र रूपमा पार्टी सदस्यता विस्तार र प्रदेश तहका अधिवेशनहरू सम्पन्न गरिसकेको रास्वपाले यस महाधिवेशनलाई आफ्नो नीति, विचार र सांगठनिक संरचनालाई थप सुदृढ बनाउने अवसरको रूपमा लिएको छ । प्रतिनिधि सभा निर्वाचनमा देशकै सबैभन्दा ठूलो दल बनेपछि हुन लागेको यो पहिलो महाधिवेशन भएकाले पनि यसलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।
लोगो सार्वजनिक गरेसँगै रास्वपाले आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तक तथा आम नागरिकहरूलाई महाधिवेशन भव्य र सभ्य रूपमा सफल पार्नका लागि आ-आफ्नो स्थानबाट सहयोग र ऐक्यबद्धता जनाउन हार्दिक आह्वान समेत गरेको छ ।