राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २९ बैशाख, २०८१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औँ पटक आमरण अनशन सुरु गरेका छन् ।
शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् ।
सबै नेपालीलाई निःशुल्क औषधि तथा उपचारको व्यवस्था गरिनुपर्ने, जनताको नाममा डाक्टर केसीसँग सम्झौता भएअनुरूप गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालनमा ल्याउनुपर्नेमा माग समावेश गरिएको छ । यस्तै, कार्की आयोगले दोषी ठहर गरेको ब्यक्तिहरुलाई कारवाही गरिनुपर्ने पनि केसीको माग छ ।
बृहत शान्ति सम्झौतापछि द्वन्द्वकालमा मानव अधिकार हनन, मानवताविरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरु र दलहरु नै अहिलेसम्म निरन्तर सत्तामा रहदै आएको भन्दै केसीले उनीहरुले शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको समेत आरोप लगाएका छन् ।