राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १७ चैत्र, २०७९
कर्णाली।कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार दोस्रो पटक विश्वासको मत हासिल गरेका छन् । प्रदेश सभाको बैठकमा शर्माले कूल ३८ मत प्राप्त गरेको विश्वासको प्रस्तावमा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सदस्यले मात्र शर्माको विपक्षमा मतदान गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तिमा २१ सदस्य आवश्यक पर्ने उल्लेख छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री नियुक्त भएको तीन महिना नपुग्दै विश्वासको मतका लागि गएका थिए । नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा नेता शर्मा २६ प्रदेशसभा सदस्यको समर्थनमा गत पुस ११ गते प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कर्णाली विधानसभामा कांग्रेसका १४ प्रदेश, नेकपा (माओवादी केन्द्र)का १३, एमाले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का एक–एक र स्वतन्त्र प्रदेशसभा सदस्य छन् । भर्खरै विश्वासको मत पाएपछि शर्माले प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पद बलियो बनाएका छन् ।