राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ साउन २७, काठमाडौँ । विभिन्न सचेतनामूलक तथा प्रोत्साहनमूलक कार्यक्रमहरूको आयोजना गर्दै आज देशभर भव्य रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसका लागि ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नारा तय गरिएको छ । समाज र राष्ट्र निर्माणमा युवा वर्गको भूमिका तथा महत्त्वलाई उजागर गर्ने मुख्य उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि हरेक वर्ष अगस्ट १२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको हो ।
अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य ध्येय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस र पैरवी सञ्चालन गर्नुका साथै नीति निर्माण एवं त्यसको कार्यान्वयनको तहमा युवाहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्नु रहेको छ ।
यसका साथै युवाका क्षेत्रमा साझेदारी र लगानी बढाउने, युवामैत्री शासन व्यवस्थाको प्रवर्द्धनमा सहयोग पुर्याउने र युवा केन्द्रित सरकारी, गैरसरकारी तथा निजी संघ-संस्थाहरूबीच आपसी सहकार्य र साझेदारी बलियो बनाउनु पनि यस दिवसको उद्देश्य हो ।
दिवसका अवसरमा आज काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक विशेष मूल समारोहको आयोजना गरिएको छ । उक्त समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसँग सम्बन्धित विशेष प्रदर्शनीसमेत राखिनेछ ।
यसैगरी, दिवसको सुरुआत स्वरूप बिहान भृकुटीमण्डपदेखि मूल समारोहस्थल कमलादीसम्म ‘युवा जागरण दौड’ आयोजना गरिँदैछ । मूल समारोहका क्रममा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धनका विविध आयामबारे उच्चस्तरीय प्यानल छलफलसमेत सञ्चालन हुनेछ ।
यो दिवस युवा जागरणको दिशामा एक विश्वव्यापी र साझा अभियानका रूपमा स्थापित भएको छ। यसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित नीतिगत बहस गर्ने र नीति निर्माण एवं कार्यान्वयनमा युवा सहभागिता र साझेदारी बढाउने प्रेरणा प्रदान गर्दै आएको छ ।
साथै सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताका बाबजुद एकता र पारस्परिकता प्रवर्द्धनमा सबै मिलेर हातेमालो गर्दै अघि बढ्ने संकल्प पनि यस अवसरमा व्यक्त गरिँदै आएको छ ।
दिवसको विशेष अवसर पारेर सूचना प्रविधि उद्यमी तथा ‘स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कार’बाट ६ वटा उत्कृष्ट व्यवसायलाई पुरस्कृत गरिँदैछ। त्यसैगरी देशका सातै प्रदेशका उदयीमान युवा उद्यमीहरूलाई पनि कार्यक्रममा सम्मान तथा पुरस्कृत गर्ने आयोजकले जनाएको छ।