मंगलवार, २६ श्रावण, २०८३

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक भदौ १ गतेसम्मका लागि स्थगित

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक भदौ १ गतेसम्मका लागि स्थगित

२०८३ साउन २६, काठमाडौँ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ । बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सांसद संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ १ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

बैठकमा नेपाली काँग्रेसका सांसद निष्कल राईले गणपूरक संख्याबारे प्रश्न उठाउँदै उपस्थित सांसदको संख्या गणना गर्न माग गरेका थिए । त्यसपछि तीन मिनेटसम्म घण्टी बजाएर सांसदहरूको उपस्थिति सुनिश्चित गर्ने प्रयास गरिएको थियो ।

सभामुख अर्यालका अनुसार बैठक सञ्चालनका लागि कम्तीमा ६९ सांसद उपस्थित हुनुपर्नेमा ६१ जना मात्रै उपस्थित रहेको पाइएपछि बैठक स्थगित गरिएको हो ।

अब प्रतिनिधिसभाको अर्को बैठकमा आवश्यक गणपूरक संख्या पुगेपछि मात्रै खानीसम्बन्धी विधेयकमाथिको कार्यसूची अघि बढ्नेछ । प्रतिनिधिसभाको अर्को बैठक भदौ १ गते बस्ने गरी स्थगित गरिएको छ ।

advertisement_1676551694.gif