राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ साउन २६, काठमाडौँ । सभामुख डोल प्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाका लागि नेपालका महामहिम राजदूत साइमन अन्स्र्टबिच शिष्टाचार भेटवार्ता भएको छ । संघीय संसद्, प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
भेटवार्तामा सभामुख अर्यालले संघीय संसद्ले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत संलग्नता बढाउनुपर्नेमा जोड दिए । उनले साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धिका लागि संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सभामुख अर्यालले नेपालको सामाजिक–आर्थिक विकासमा अष्ट्रेलिया सरकारले लामो समयदेखि पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै विशेषगरी अष्टे«लिया अवार्ड स्कलरसिप, क्षमता अभिवृद्धि तथा तालिमका अवसरहरूमार्फत नेपालको मानव संसाधन विकासमा अष्ट्रेलियाले पु¥याएको योगदानप्रति आभार व्यक्त गरे ।
भेटमा जनस्तरीय सम्बन्धलाई दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै सभामुख अर्यालले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य रहेको बताए । साथै, अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे । सभामुख अर्यालले महामहिम राजदूतमार्फत अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख माननीय मिल्टन डिकप्रति हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गरे ।
भेटवार्तामा महामहिम राजदूत साइमन अन्स्र्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय तहको सहकार्य तथा जनस्तरीय सम्बन्धको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका थिए । उनले नेपाल र अष्ट्रेलियाबीच शिक्षा, मानव संसाधन विकास, संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न आफ्नोतर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।