मंगलवार, २६ श्रावण, २०८३

सुनसरी र सिराहामा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

सुनसरी र सिराहामा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

२०८३ साउन २६, काठमाडौँ । सरकारले कप्तानगञ्ज घटनामा सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ भने वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने निर्णय समेत भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

साथै बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर मा पूर्ण रूपमा छुट प्रदान गर्ने निर्णय पनि गरेको छ । त्यसैगरि मन्त्रीपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको हो ।

प्रवक्ता पोखरेलले बिभिन्न घटनाका लागि छानविन गर्न गठित कतिपय समिति वा आयोगहरुको प्रतिवेदन सार्वजनिक भइसकेको र केहि प्रतिवेदनहरु सार्वजनिक गर्ने तयारीमा सरकार रहेको जानकारी दिए ।

advertisement_1676551694.gif