राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८२ कार्तिक ३, काठमाडौँ । हमासद्वारा इजरायलमा भएको आक्रमणपछि गाजातर्फ बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज अपराह्न २ः३५ बजे इजरायलबाट नेपाल ल्याइएको छ । स्व.जोशीको पार्थिव शरीर आजै विशेष विमानमार्फत धनगढी पठाइएकाे छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्व.जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरिन् । प्रधानमन्त्री कार्कीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै विपिन जोशीको निधनले सम्पूर्ण नेपाली जनमानसलाई गहिरो चोट पुर्याएको बताइन् ।
शोक सभामा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, र नेपालका लागि इजरायली राजदूत H. E. Mr. Shmulik Arie Bass लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
इजरायलस्थित नेपाली राजदूतावासको समन्वय र इजरायली सरकारको सहयोगमा शव नेपाल ल्याइएको हो ।
विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि बन्धक बनाइएका थिए। जोशीको निधनको पुष्टि इजरायली सरकारले २०८२ कात्तिक २ गते (१४ अक्टोबर २०२५) मा औपचारिक रूपमा जानकारी गराएको थियो। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीहरूको तत्काल निधन भएको थियो