राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २२ माघ, २०८२
२०८२ माघ २१, उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उर्लाबारी आएका छन् । उर्लाबारीमा आयोजित भेटघाट तथा छलफलका क्रममा उनले स्थानीयवासी, युवाहरू र नागरिक अगुवासँग समसामयिक राजनीतिक अवस्था, सुशासन र स्थानीय विकासका विषयमा संवाद गरेका छन् ।
भेटघाटमा शाहले विकासको मूल आधार पारदर्शिता र जवाफदेहिता भएको उल्लेख गर्दै राज्य संयन्त्रमा देखिएको बेथिति र अनावश्यक खर्च नियन्त्रण गर्न नागरिक स्वयं सचेत र सक्रिय हुनुपर्ने धारणा राखे । उनले स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने बताए ।
स्थानीय युवाहरूले रोजगारीको अभाव, शहरी व्यवस्थापन, फोहोर व्यवस्थापन तथा आधारभूत पूर्वाधारका समस्या उठाएका थिए । जवाफमा साहले नीति निर्माणमा नागरिकको सहभागना बढेमा समाधान सम्भव हुने बताउँदै परिवर्तन माथिबाट मात्र नभई तलबाट सुरु हुनुपर्ने बताए ।
बालेनको उर्लाबारी आगमनलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ । उनका समर्थकहरूले उनको स्पष्ट बोली र कार्यशैलीले परम्परागत राजनीतिमा नयाँ बहस सिर्जना गरेको प्रतिक्रिया दिएका छन् ।
उर्लाबारी बसाइँका क्रममा शाहले स्थानीय अवस्था अवलोकन गर्ने र विभिन्न समूहसँग थप अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ ।