राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १ असार, २०८०
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डे, शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो।
शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्याैपानेकाे एकल इजलासमा भएकाे थुनछेक बहसपछि १६ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउन आदेश भएसँगै उनीहरूलाई केन्द्रीय कारागार जगन्नाथ देवल पठाइएकाे हाे ।
माथिल्लो अदालतबाट फरक आदेश नहुँदासम्म पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सचिव टेकनारायण पाण्डे पुर्पक्षका लागि थुनामा रहने छन् ।
योजनाकार अभियुक्तहरू केशव दुलाल र सानु भण्डारी, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्व सभासद् आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शम्शेर मिया र हरिभक्त महर्जन पनि थुनामा रहनेछन् ।
दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।