राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १८ माघ, २०८०
काठमाडौं । नेकपा एमालेले युवा महोत्सव–२०८० तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि ‘युवा महोत्सव-२०८० तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो ।
देशव्यापी रूपमा गर्न लागिएको युवा महोत्सव अभियान काठमाडौंमा माघ २० गतेबाट शुभारम्भ गरिने काठमाडौं जिल्ला कमिटीले जनाएको छ।
काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाका अनुसार कार्यक्रम युवा शक्तिलाई समाज रुपान्तरण दिशामा अभिप्रेरित र जागृत गराउने, युवा पुस्ताकै समीपमा रहेर समस्याको पहिचान गर्ने र समाधानका उपायको खोजी गर्ने अनि ‘समाज परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउन अभियान अगाडि बढाएकस हौँ । देशव्यापी आयोजना गरिने अभियान हामीले काठमाडौंमा थालनी स्वरूप ‘युवा महोत्सव–२०८०’ एवम सम्मानको आयोजना गर्दै छौँ ।’
उनले कार्यक्रम युवा शक्तिलाई समाज रुपान्तरण दिशामा अभिप्रेरित र जागृत गराउने उद्देश्यको सुरुवाती खुड्किला मात्रै रहेको बताए । कार्यक्रम पश्चात् सुझाव सल्लाहको आधारमा अर्को चरणका महोत्सव समारोहहरूको आयोजना गरिने समेत उनले बताए ।
काठमाडौंको टुँडिखेलमा हुने महोत्सव पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ ।