राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २० मंसिर, २०८०
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एनसेलको सेयर खरिद बिक्री रोकेर अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो। एनसेलको कारोबार अपारदर्शी र संसयपूर्ण रहेकाले अनुसन्धान गर्नुपर्ने र निचोडमा पुग्नुपर्ने भएकाले सेयर खरिद बिक्री रोक्नेर अनुसन्धान गर्नुपर्ने समितिको ठहर छ। एनसेलका विषयमा ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गरी जानकारी गराउन सरकारलाई निर्देशन दिइएको बताइएको छ।
बैठकमा समिति सदस्यहरूले एनसेलको सेयर खरिद बिक्री प्रकरण देशको हित विपरीत देखिएकाले तत्काल प्रक्रिया रोक्न निर्देशन दिनुपर्ने धारणा राखेका थिए। बैठकमा सांसदहरु अमरेशकुमार सिंह, अर्जुननरसिंह केसी, हरि ढकाल, मनिष झा, राजन केसी, योगेश भट्टराई, राजेन्द्र लिङ्देनलगयातले बोलेका थिए ।
बैठकले एनसेलका विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै बोलाउने निर्णय गरेको बताइएको छ।