राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २३ माघ, २०८२
२०८२ माघ २२, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभाको निर्वाचन एकै दिनमा हुने बताएकी छिन् ।
भक्तपुरस्थित जनक शिक्षामा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते नै एकै पटक चुनाव हुने बताएकी हुन् ।
उनले भनिन्, ‘हामीले मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी छ। निश्चिन्त मान्नुस्। चुनाव आयो फरक पर्दैन, एक दिनमा हुन्छ। दुई चोटि कहीँ हुनेवाला छैन ।’
यसअघि प्रधानमन्त्री कार्कीले मौसमले साथ नदिए उच्च हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव गर्न सकिने बताएकी थिइन् । कार्कीको अभिव्यक्तिपछि चुनावलाई लिएर अनेक संशय उत्पन्न भएका थिए ।
यसै विषयमा एमाले अध्यक्ष केपी ओलीले पनि बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग छलफल गरेका थिए । समयमा चुनाव गराएर छिट्टै सत्ता हन्तान्तरण गर्ने कार्कीको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी हुन् ।