राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ५ चैत्र, २०८२
२०८२ चैैैत्र ५ काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन । चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।
थापा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए ।
कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा सीमित भएको छ । सभापति थापा आफैं सर्लाही-४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए । सिंहले ३५ हजार ६ सय ८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्र ल्याए ।
आमनिर्वाचन समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने छ ।
२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको १३४ सदस्यीय नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।