राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २१ असार, २०८०
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् ।थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । बहुमत सांसदको हस्ताक्षरसहित दाबी गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए । थापाको शपथ ग्रहण र मन्त्रिपरिषद् बिस्तार भने शुक्रवार हुने छ ।
प्रदेश प्रमुख खापुङले थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।