राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ७ मंसिर, २०८०
काठमाडौँ। आज नेकपा एमाले निकट युवा संघ तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई समुहले गर्न लागेको उपत्यका केन्द्रित प्रदर्शनको सुरक्षाका लागि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। उपत्यकाका तिनवटै जिल्लाका चोकचोक र गल्ली तथा सडकहरूमा सुरक्षा फोर्सको परिचालन गरिएको छ। अप्रिय घटना नहोस भनेर प्रहरीले सिभिल ड्रेसमासमेत प्रहरी परिचालन गरेको छ। सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि फिल्डमा खटिएका छन्।
आज नेकपा एमाले निकट युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछ भने मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले बल्खुमा प्रदर्शन गर्दैछन्। उनको प्रदर्शनमा राजावादी समूहले पनि साथ दिएका छन्।
प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार भएको बताइएको छ। प्रदर्शन निगरानीका लागि तीनवटै जिल्लामा सशस्त्र प्रहरीका सवै युनिट, नेपाल प्रहरीका सवै कार्यालय, परिसर र वृत तथा राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि तयारी अवस्थामा रहेको बताइएको छ ।
प्रहरीका अनुसार ‘प्रदर्शनको अवस्था र आवश्यकता अनुसार खटिन र खटाउनका लागि सबै सुरक्षा फोर्स तयारी अवस्थामा छन्। उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सवै ट्राफिक कार्यालयका प्रहरी तयारी अवश्थामा छन्। आवश्यक मात्रामा परिचालित भइसकेका पनि छन्।
भ्रष्टाचार र अनियमितता नियन्त्रण, सामाजिक सद्भाव कायमलगायत माग अघि सारेर युवा संघले तीनकुने र प्रसाईं संयोजक रहेको अभियानले बल्खुमा बिहीबार सभाको आयोजना गरेका छन् । दुवै पक्षले शान्तिपूर्ण रूपमा सभा आयोजना गर्ने बताइरहेका छन् । यस अघि माइतघर मण्डला मा दुवै समुहले कार्यक्रम गर्ने भने पनि सरकारले उक्त स्थानमा सभा जुलुस गर्न रोक लगाएर तिनकुने तथा बल्खु मा प्रदर्शन गर्न स्थान तोकिदिएको हो ।