राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १० चैत्र, २०८२
२०८२ चैैैत्र १०, काठमाडौं । संघीय संसदमा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूमध्ये ४७ जनाले नेपालीबाहेकका भाषामा शपथ ग्रहण गर्ने इच्छासहित नाम दर्ता गराएका छन् ।
संघीय संसद् सचिवालयका अनुसार सम्बन्धित सांसदहरूले आ-आफ्नो मातृभाषा वा रोजाइको भाषामा शपथ लिन नाम सूचीकृत गराएका हुन् ।
हालै सम्पन्न निर्वाचनबाट आएका प्रतिनिधिसभा सदस्यहरूको शपथ आगामी चैत १२ गतेका लागि तय गरिएको छ। दर्ता सूचीअनुसार विभिन्न भाषामा शपथ लिने तयारी गरिएको छ, जसमा संस्कृत, मैथिली, राना थारू, थारू र नेपाल भाषा लगायतका भाषाहरू समावेश छन् ।
प्राप्त विवरणअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने तयारी गरेकी छन् । त्यस्तै उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ ग्रहण गर्नेछन् भने कृपाराम राना राना थारू भाषामा शपथ लिन इच्छुक छन् । गीता चौधरी र प्रमीलाकुमारी गच्छदारले थारू भाषामा तथा विराजभक्त श्रेष्ठ र कुलभक्त शाक्यले नेपाल भाषामा शपथ लिने जनाइएको छ ।
इतिहासमा पनि नेपालीबाहेकका भाषामा शपथ लिने अभ्यास रहँदै आएको छ । विभिन्न निर्वाचन अवधिहरूमा उल्लेख्य संख्यामा सांसदहरूले मातृभाषा प्रयोग गरेका थिए भने २०६४ सालको संविधानसभामा ठूलो संख्यामा सदस्यहरूले आ-आफ्ना भाषा प्रयोग गरी शपथ लिएका थिए। त्यसबेला विभिन्न समुदायका भाषाहरूको व्यापक प्रतिनिधित्व देखिएको थियो ।